जनकपुरधाम । जनकपुरधाममा उत्पन्न धर्मसम्बन्धि विवाद साम्य भएको छ । गएको बिहीबार सम्पन्न रामनवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले धार्मिक सद्भावमा खलल पुर्याउने कार्य गरेको भन्दै मुस्लिम संघसंगठनले विरोध गरेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार सर्वपक्षीय छलफल डाकेर यो समस्यालाई समाधान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वपक्षीय छलफलले आगामी दिनमा धार्मिक, सामाजिक कार्यक्रमहरु गर्दा स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउने, धार्मिक सद्भावमा खलल पुग्ने क्रियाकलाप नगर्ने लगायतको सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
यस प्रकारको कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउनुपर्छ, उनले भने–यसमा सबै पक्षले सहमति जनाएका छन् । भविष्यमा यस प्रकारको वातावरण सिर्जना हुन नदिन सबै पक्ष गंभिर हुने सहमति भएको हो । हिन्दू र मुस्लिम दुवै पक्षका अगुवाहरुको उपस्थितिमा भएको छलफलमा आपसी भाइचारा स्थापित गरेर अघि बढ्न सबै पक्ष राजी भएका हुन् । धार्मिक नगरी जनकपुरधाममा धार्मिक विवाद हुन नदिन सोमबार (आज) सद्भाव र्याली हुने भएको छ । सद्भाव र्याली निकाल्ने जिम्मा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलाई दिएको छ ।