वीरगञ्ज । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज–१६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटकमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको छ । सीमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको छ ।
लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।
निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए । स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन । गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन् । नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् । म यस विषयमा बुझ्दै छु ।’
थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।