जनकपुरधाम । धनुषामा एसइई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् ।
धनुषाको लक्ष्मीनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविमा खटिएका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।
यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर बिद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई विपि कोइराला माविको परीक्षा निरिक्षकमा खटाइएको थियो ।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि बिद्यार्थीले उतार गरेको पाइएको थियो ।
यता, सर्लाहीको हरिवनमा एक बालक प्रहरी हिरासतबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सामेल भएका छन् ।
केही दिनअघि भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा हिरासतमा परेका ती बालक (ट्याक्टर चालक) ले प्रहरी हिरासतबाटै प्रहरीमा सहभागिता जनाएका हुन् । ती बालक १८ वर्ष समेत नपुगेकाले उनको नाम भने गोप्य राखिएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जिल्लाभरको ३७ वटै परीक्षा केन्द्रमा शान्तपूर्ण वातावरणमा परीक्षा संचालन भइरहेको बताए । परीक्षार्थीले शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।
एसपी सुवेदीले कुनै पनि किमिसको भय सिर्जना नहुने गरी वालमैत्री वातावरणमा परीक्षा संचालन भइरहेको बताएका छन् ।
सर्लाहीमा एसइइ दिनका लागि १० हजार ९१६ जना विद्यार्थीले फाराम भरेका छन् ।
सर्लाहीमा शुक्रबार पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ९६ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार एसइइका लागि १० हजार ९१६ जना परीक्षार्थीले फारम भरेकोमा पहिलो दिन भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा १० हजार ८२० जना मात्रै सहभागी भएका हुन् । ४६ जना छात्र र ५० जना छात्रा परीक्षा दिन नआएका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त इकाइ प्रमुख अशोककुमार रौनियारले बताए ।
रौनियारका अनुसार नियमिततर्फ १० हजार ५१५, ग्रेडवृद्धितर्फ १२४, प्राविधिकतर्फ १८१ सहित पहिलो दिनको परीक्षामा १० हजार ८२० जना परीक्षार्थी परीक्षामा सामेल भएका हुन् ।
जिल्लाको ३७ वटै परीक्षा केन्द्रमा शुक्रबार पहिलो दिनको परीक्षा शान्तपूर्वक सम्पन्न भएको सर्लाही प्रहरीका उपरीक्षक नरेशराज सुवेदीले बताए ।
बारामा केन्द्राध्यक्षसहित पाँच निष्कासित
बारा जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को प्रश्नपत्र आउट भएपछि परिक्षा केन्द्रको अध्यक्षसहित पाँच जना कारवाहीमा परेका छन् ।
एसईईको शुक्रबार पहिलो दीन परिक्षा सुरु भएको केहि समय भित्रै बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयबाट अंग्रेजी विषयको प्रश्नपत्र आउट भएपछि स्थानीय प्रशासनले त्यहाँको परिक्षा केन्द्रको जिम्मवारी पाएका केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र दुईजना परिक्षा निरीक्षकलाई निलम्बित गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाकाअनुसार निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम राज चौधरी र विजय प्रसाद चौधरी र प्रश्नपत्र आउट भएको कक्षाकोठामा खटेका निरीक्षकद्वय कुन्दन प्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बित गरीएको छ । एसईई परिक्षा चलेसम्म उनीहरुलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको सीडीओ सापकोटाले बताए ।
‘परिक्षा केन्द्रमा उहाँहरुले लारवाही गरेको भेटेपछि कारवाही गरेका छौं । मोबाइल फोन परिक्षा केन्द्रमा निषेधित गरिएको भएपनि केन्द्राध्यक्ष लगायतका व्यक्तिहरुको लापरवाहीका कारण मोबाइल फोनको प्रयोगबाट प्रश्नपत्र आउट भयो । यस्तो गम्भीर त्रुटी भएपछि कारवाही स्वरूप उहाँहरुलाई परिक्षा अवधि भरका लागि सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ,’ सिडीओ सापकोटाले भने ।