जनकपुरधाम । नेकपा माओवादीका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार बारा जिल्लामा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष डा. सीके राउतले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।
बारा–२ मा मंसिर ४ मा सम्पन्न आमचुनावमा कुशवाहा झिनो मतअन्तरले जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसित पराजित भएका थिए । बारा–२ मा आउँदो बैशाख १० गते उपचुनाव हुन लागेको हो । बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपा माओवादीबाट कुशवाहाले टिकट पाउने सम्भावना नदेखेपछि जनमतमा प्रवेश गरेका हुुन् । सत्ता गठबन्धनमा रहेका माओवादीले उम्मेदवार उठाउने सम्भावना कमै छ । जनमत पार्टीले बारा–२ बाट कुशवाहालाई उम्मेदवार बनाउने करिब पक्का भएको छ ।