जनकपुरधाम । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ धनुषाको लक्ष्मीनियाँ गाउँपालिकासहित देशभर विश्व क्षयरोग दिवस मनाइएको छ ।
लक्ष्मीनियाँ गाउँपालिकामा आयोजित कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले क्षयरोग विरुद्धको अभियानमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताइन् ।
मधेश प्रदेशका जनताको स्वास्थ्य क्षेत्रमा अभैm पहुँच हुन नसकेको जिकिर गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । सबै नागरिकको पहुँच हुने गरी स्वास्थ्य सेवा प्रवाह हुनुपर्ने धारणा उनको थियो । क्षयरोग मुक्त प्रदेश बनाउनको लागि स्थानीय तहले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढनुपर्ने तर्क मन्त्री साहको थियो ।
लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी भट्टराईले स्वास्थ्य सेवालाई थप प्रभावकारी तरिकाले अघि बढाउनुपर्नेमा जोड दिए ।
सेभ द चिल्डे«न, बीएनएमटी नेपालको सहकार्यमा लक्ष्मीनियाँ गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय धनुषा, स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा क्षयरोग विरुद्ध अभियानको आवश्यक्ता औंल्याएको थियो । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकालाई चालु आर्थिक वर्षमा ७२ वटा क्षयरोगी खोज्ने लक्ष्य दिएको हालसम्म ५४ जना फेला परेको छ । नेपाल सरकारले थालेको क्षयरोग विरुद्धको अभियानलाई सहयोग पुर्याउन लक्ष्मीनियाँ गाउँपालिकाले पनि हरसम्भव प्रयास गरिरहेको अध्यक्ष मिश्रले बताए ।
तथ्यांकहरुका अनुसार नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । नियमित औषधि खाए रोग निको हुने गरेको स्वास्थ्यकर्मीहरुको तर्क छ । आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।
नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या करिब दुई हजार आठ सय रहेको छ । यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।
आव २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।
नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८÷७९–२०८२÷८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।
रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।