वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा अन्योल भएको छ । मतदाता नामावालीको विवादका कारण पूर्वघोषित निर्वाचन मितिलाई चैत्र ५ गतेबाट तिन दिन पछि चैत्र ८ गतेको लागि सारिएको ठाकुररामको स्ववियू निर्वाचन थप अन्योल तर्फ धकेलिएको हो ।
विद्यार्थीहरुले सङ्घसङ्गठन र समूहले झिकेको मतदाता नामावाली सम्बन्धित विषयलाई क्याम्पस प्रशासनले समाधान नगर्दै संसोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको वीभिन्न शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण निर्वाचन हुने÷नहुनेमा अन्योलता सृजना भएको हो ।
संसोधित कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्मका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरणको कार्यक्रम थियो । तर, विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण मनोनयन वितरण प्रभावित भएको ठाकुरराम क्याम्पसका स्ववियू निर्वाचन अधिकृत रोशन लामिछानेले बताए । ‘तालाबन्दीका कारण हामी कार्यालय बाहिर बसिरहेका छौं । मनोनयन वितरणको कार्यक्रम सुरु हुनसकेको छैन’, लामिछानेले भने ।
यसअघि मातदाता नामावालीकै विषयमा क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनहरु विच छलफल चलिरहँदा गत शुक्रबार असन्तुष्ट विद्यार्थीहरुको एक समूहले क्याम्पसस्थित विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका थिए । आगजनी पश्चात क्याम्पस प्रशासनले निर्वाचन प्रकिया स्थगित गर्दै सोमबार मात्रै संसोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । यद्दपी विद्यार्थी सङ्गठनहरुले आफ्नो मागलाई सम्बोधन नगर्दै क्याम्पस प्रशासनले कार्यतालिका सार्वजनिक गरेपछि मङ्गलबार बिहान विरोध प्रदर्शन गर्दै क्याम्पसस्थित प्रमुखको कार्यालय, निर्वाचन समितिको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी यूनियन, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायतका विभिन्न विद्यार्थी सङ्गठन र समूहहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने र मतदाता विधार्थीहरुको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्न मागे गरेका छन् ।