वीरगञ्ज । महायज्ञमा प्रवेश निषेध गरेको विरोधमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौका दलित समुदायले सोमबार प्रदर्शन गरेका छन् । ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद, हिन्दूको शोषण हिन्दू, हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
लामो समयपछि आगामी चैत ८ गतेदेखि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिएको भन्दै अलौका दलित समुदाय विरोधमा उत्रिएका हुन् । ‘२५ वर्षअघि महायज्ञ हुँदा हामी सानै थियौँ, त्यो बेला केही थाहा थिएन, हाम्रा अग्रजहरुले पनि सामान्य जस्तै सोचेर चुप लागे । तर अब हामी सचेत छौँ, चुप लागेर बस्दैनौ’ अलौका स्थानीय कृष्ण रामले भने । त्याहाँका गैरदलित समुदायले दलितलाई सँधै गिराउने र हेप्ने गरेको हुँदा अब सहेर नबसी कानुनी प्रक्रियामा जाने कृष्णको भनाई छ ।
महायज्ञमा दलित समुदायलाई पनि प्रवेश गर्न दिनुपर्छ भनेर १ महिनादेखि निरन्तर आवाज उठाएपनि शतचण्डी महायज्ञ मूल आयोजक समितिले बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको अलौ निवासी ५६ वर्षीय खुबलाल महराले बताए । महायज्ञस्थल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलित समुदायलाई नै चौका (महायज्ञमा पूजा गर्ने ठाउँ) मा प्रवेश गर्न नदिनुले अन्याय भएको महराको भनाई छ । अरु सबै काम गर्नु तर चौकामा नबस्नु भन्ने गैरदलितको प्रतिक्रियामाथि आपत्ती जनाउँदै उनले भने, ‘सबै काम हामीले नै गर्ने अनि चौखामा बस्न नदिने ? हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो भन्दै महराले प्रश्न गरे ।
शतचण्डी महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगराइएको भन्दै अलौ निवासी ६४ वर्षीय जोधा रामले आपत्ति जनाए । महायज्ञ बनाउनका लागि दलित समुदायबाट चन्दासमेत नलिएको उनको आरोप छ ।
‘रामायणमा पनि छुवाछुत छैन, धर्ममा छुवाछुत र विभेद भन्ने कतैपनि छैन । तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाड्न खोज्नु हो’ हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता बिनोद प्रसाद कुर्मी बताउँछन् । ब्राह्मणवादकै उपज र रुढीवादी परम्पराकै कारण हिन्दू धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जुन जातको भएपनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दूहरु पनि एक हुनुपर्छ । जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ’, कुर्मीले भने ।