जनकपुरधाम । जनकपुरधाम–महेन्द्रनगर सडकखण्डको रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी भएको छ । शनिबार राति राजदेवी मन्दिरमा चोरी भएको यो पहिलो घटना हो । अघिल्लो समय धनुषामा मन्दिरहरुमा चोरी बढेको छ । केही महिना अघि मात्रै लक्ष्मीनियाँमाई मन्दिरमा चोरी भएको थियो । लगत्तै लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीमा रहेको सोमेश्वरनाथ मन्दिरमा पनि चोरी भएको थियो ।
राजदेवी मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको बताइएको छ ।
शनिबार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको हो ।
मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरि भएको हो । शनिबार राति मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए । चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ । पूजारीका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो ।