जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. नथु प्रसाद चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले चौधरीलाई आयोगको उपाधयक्ष नियुक्त गरेका हुन् । डा. चौधरीले शुक्रबार नै कार्यभार सम्हालेका छन् । सप्तरी जिल्लाका बासिन्दा डा. चौधरी नेपाल सरकारको अवकास प्राप्त सचिव हुन् ।
डा. भोगेन्द्र झाले गएको पुस महिनामा पदबाट राजीनामा गरेपछि नीति तथा योजना आयोगका उपाध्यक्ष रिक्त थियो ।
झाले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएका थिए । डा. झा २०७६ भदौ २२ गते प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।