लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ४ मुसहर बस्ती र वडा नं. ९ डोम बस्तीमा एक सय जना महिलालाई सेनेटरी प्याड वितरण गरिएको छ ।
सिस्टर हूड नेपाल (टिम सर्लाही) मा आवद्ध किशोरीहरुले बस्तीमै पुगेर दलित मुसहर र डोम समुदायका महिलालाई सेनेटरी प्याड वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर र न्यून चेतनास्तर रहेको मुसहर तथा डोम समुदायका महिलालाई महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्ने भनी सिकाउँदै साथमा प्याड समेत बाँडिएको सिस्टर हूड नेपालकी कायरा पोखरेलले जानकारी दिईन् ।
उनीसँगै सरिश्मा खनाल, सिवानी चौलागाई, दीब्या साशंकर, मनुमाया थिङ लगायत भएर दलित बस्तीमा पुगेर त्यहाँका महिलालाई सेनेटरी प्याड वितरण गरेका हुन् । किशोरीको यो समूहले सामाजिक कार्य अन्तर्गत केही समयअघि लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेको थियो ।