जनकपुरधाम । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आपूmलाई उम्मेदवार बनाउन अध्यक्ष महन्थ ठाकुरले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका अध्यक्ष ठाकुरले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।
‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’ ठाकुरसँगै बालुवाटार पुगेका नेता शुक्लले भने, ‘उहाँको स्वच्छ छवि छ । उहाँ यसको लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले उहाँलाई राष्ट्रिय सहमतिको पात्रका रुपमा अगाडि बढाइयोस् भन्न हामी गएका थियौं ।’
प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको शुक्लले बताए । ‘तपाईंहरुले नभनेको भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै शुक्लले भने, ‘म सकारात्मक छु, अरु ठूलो दलसँग पनि कुरा गर्नुहोस् ।’
आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने शुक्लले बताए । एमाले अध्यक्ष ओलीसँग मंगलबार र कांग्रेस सभापति देउवासँग बुधबार भेटघाट तय भएको उनको भनाइ छ ।
राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन्–अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् ।
दाङको भालुवाङमा पत्रकारसँग मंगलबार कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन, उनले भने, चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पावर सेरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुकै लागि सधैँ बलिदान भइन्न । अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ ।
राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए । प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन, उनले भने, अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए । संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ, उनले भने, देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।
निर्वाचनमा ८८१ मतदाता
राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ ।
प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘तीन जना मतदाता कम हुन सक्छन् । त्यसबारे आयोगले बुधबार निर्णय गरेर सार्वजनिक गर्छ’, प्रवक्ता पौडेलले भने ।
प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।
तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।
प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उनले मतदानमा भाग लिन पाउने छैनन् । नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था छ ।
राष्ट्रपति निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगले कार्यतालिका छ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।
राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । आयोगले यहाँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।