जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारलाई यथाशीघ्र प्रहरी समायोजन ऐन र निजामती ऐन कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा गृह तथा सञ्चार मन्त्रालयले आयोजन गरेको विशेष कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन ऐन र निजामित ऐन यथासिघ्र कार्यान्वयन गर्नुपर्ने बताए ।
’सबैभन्दा बढी संघीयता चाहने पार्टी, बलिदान दिने पार्टी माओवादी हो, उनले भने–आज माओवादी नेतृत्वको संघीय सरकार छ । प्रहरी समायोजन ऐन, निजामती ऐन र नागरिकता विधेयक सम्बन्धि विधेयक पारित गरी लागु गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने विश्वास छ । यसले संघीयता बलियो पनि हुन्छ र विकाशले पनि गति लिन्छ ’, मुख्यमन्त्री यादवले भने ।
उनले संघीयता आउनुमा माओवादीको दश वर्षे जनयुद्धको सबैभन्दा ठूलो भूमिका रहेको चर्चा गरे । उनले मधेशमा मधेशी जनता रहेसम्म संघीयता रहिरहने जिकिर गरे ।
’हामीले पहिले संघीयताको कुरा काठमाडौंमा उठाउँदा देश टुक्रयाउन खोज्दै छ भन्थ्यो । तर पछि जब माओवादीले १० वर्ष जनयुद्ध ग¥यो, हामीले संघीयता प्राप्त ग¥यौं’, उनले थपे, ‘आजको दिनमा चुनाव जितेर आएका केही व्यक्ति संघीयता चाहिँदैन भन्छन् । उनीहरुले भीखमा दिएको होइन संघीयता । संघीयता हजारौको बलिदानपछि आएको हो । जवसम्म यो मधेश प्रदेशमा जनता रहन्छ, तब सम्म देशमा संघीयता रहिरहन्छ ।’
संघीय सरकारले यथाशीघ्र प्रहरी समायोजन र निजामती ऐन लागू गरेर संघीयतालाई संस्थागत गर्नमा लाग्नुपर्ने धारणा उनको थियो ।
मधेशी शहीद प्रतिष्ठानको सक्रियतामा गरिएको विशेष कार्यक्रममा माओवादी जनयुद्धको क्रममा मधेश प्रदेशका आठ जिल्लाबाट शहादत प्राप्त गरेका शहीद परिवारलाई एक÷एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । धनुषाका शहीद रामवृक्ष यादवको परिवारलाई सो अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले एक लाखको चेक प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल लगायत प्रदेश सरकारका मन्त्री, राज्यमन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।