लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र ६६ हजार भन्दा बढीलाई फागुन ११ गतेदेखि २ सातासम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
सोमबार लालबन्दी नगरपालिकाले राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजना गरेको स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र ६६ हजार ८१३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत मुमताज मिकरानीले फागुन ११ देखि १७ वटै वडामा एकैसाथ औषधि खुवाउन सुरु गरिने जानकारी दिए ।
मिकरानीका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् । नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने गोष्ठीमा सहभागी स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झाले बताए ।
शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खलको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेका डा. विरोचन चौधरीले बताए ।
चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् । लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले फागुन ११ गते वडा कार्यालयमा जनप्रतिनिधिले नै औषधि खाएर हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गर्ने बताए ।
मेयर बासुदेव अधिकारीको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, प्रधानाध्यापक, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । लालबन्दीसहित जिल्लाको २० वटै पालिकामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।