जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक भोली मंगलबार बस्ने भएको छ ।
सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गएको माघ ४ गते विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । गएको माघ २ गते भनिएको बैठक शोक विदाको कारण माघ ३ गते बसेको थियो । माघ ३ को बैठकले सभामुख र उपसभामुखको टुंगो लगाएको थियो । माघ ४ को बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । उनले ऐतिहासिक रुपमा प्रदेशसभामा उपस्थित सबै सांसदको मत पाउन सफल भएका थिए । करिब एक महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकमा नयाँ विधेयकहरु पारित गर्ने भएको छ ।