माओवादीका सुनिता यादव मन्त्री र रहबर अंसारीले राज्यमन्त्रीको लिए शपथ
जनकपुरधाम । मधेश प्रदेश सरकारले मंगलबार पूर्णता पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार तेश्रो पटक मन्त्रिमण्डल विस्तार गरेसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको हो । मुुख्यमन्त्री सरोज कुमार यादवको उपस्थितिमा मंगलबार माओवादी केन्द्रका एक मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुनिता यादवले एक समारोहका बीच उद्योग, पर्यटन तथा वन मन्त्री र रहबर अंसारीले राज्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । यसका साथै मुख्यमन्त्री यादवको नेतृत्वमा मधेश प्रदेशमा मन्त्रिमण्डल १५ सदस्यीय भएको छ ।
प्रदेश प्रमुखको सचिवालयमा आयोजित सपथ ग्रहण समारोहमा उद्योग, पर्यटन तथा वन मन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेसँग मन्त्रीमण्डलले पूर्णता पाएको छ । गएको पुस २९ गते मुख्यमन्त्री यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । तीन जना मन्त्रीहरु भने करिब दुई सातापछि माघ १२ गते जिम्मेवारी पाएका थिए । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका सरोज कुमार यादवले भौतिक पूर्वाधार मन्त्रालय, जसपाका संजय यादवले अर्थ मन्त्रालय र बसन्त कुशवाहाले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गएको शुक्रबार मुख्यमन्त्री यादवले दोश्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै नेकपा एमालेबाट सत्रुधन सिंह कोइरीले गृह तथा संचार, राजकुमार लेखीले कानुन, न्याय तथा प्रदेशसभा मन्त्री, मोहम्मद जयद आलमले महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको शपथ ग्रहण गरेका थिए । यस्तै जसपाबाट सिंहासन सा कलवारले खानेपानी तथा उर्जा विकास मन्त्री, सुरिता साहले सामाजिक विकास मन्त्रीको शपथ लिएकी थिइन् । जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीको शपथ लिएका थिए । जसपाका शेष अबुल कलाम आजादले सामाजिक विकास राज्यमन्त्री, जनमतका संजय यादवले भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र केशव रायले गृह तथा संचार राज्यमन्त्रीको शपथ लिएका थिए ।