नेपाल–भारतको राजनीतिक सम्बन्ध पुरानो छः मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बीचको सम्बन्ध बेटीरोटीको मात्र नभई राजनीतिक रुपमा पनि धेरै पुरानो रहेको बताएका छन् ।
भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासले बुधबार आयोजना गरेको बिशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले यस्तो बताए ।
भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई दिदै मुख्यमन्त्री यादवले नेपालको विकास यात्रामा भारतको महत्वपूर्ण सहयोग रहेको चर्चा गरे ।
शुभकामना संदेशमा ठूलो संख्यामा नेपाली नागरिकहरुले भारतमा रोजगारी प्राप्त गरेको तथा भारतीय नागरिकहरुले नेपालमा रोजगारी प्राप्त गरिरहेको बताउँदै मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुबै देश एक अर्काको पुरक भएको बताए ।
शुभकामना संदेशमा उनले नेपाल–भारतको भाषा,संस्कृति भेषभुषा समेत एक जस्तो भएको तथा एक अर्काको सुख– दुःखमा सहभागी हुदै आएको उनले बताए ।
उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरुको निकै ठूलो योगदान रहेको तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत भारतीय जनताको सहयोग रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री यादवले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुख्खा बन्दगाह नेपाली उद्योगी व्यवसायीहरुको लागि निकै सहयोगी बनेको बताए ।
नेपालको हरेक प्राकृतिक बिपतिहरुमा भारतले अतुलनीय सहयोग गरेको बताउँदै नेपाल–भारत मिलेर धेरै आयोजनाहरुमा एकसाथ काम गरिरहेको बताए ।
भारतीय लगानीकर्ताहरुलाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको मुख्यमन्त्री यादवले बताए । उनले नेपाल–सरकार भारतसँग कृषि, स्वास्थ्य र उर्जाको क्षेत्रमा मिलेर काम गर्न चाहेको बताए ।
कार्यक्रममा महावाणिज्य दूसावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेश कुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा वासोवास गरी रहेका भारतका मित्रहरुमा बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामसहाय यादव, राजकुमार गुप्ता, अच्युत मैनाली, अजय चौरसिया, प्रदेश सांसद रमेश पटेल, प्रमोद जैसवाल एवं बिभिन्न संघ सस्थामा प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बीरगञ्जका बिभिन्न स्कुलका छात्र–छात्राहरुले नृत्य, गीत, झाँकी एवं नाटक प्रस्तुत गरेका थिए ।