जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नेपालको राजनीतिक अस्थिरतातिर धकेलिएको टिप्पणी गरेका छन् ।
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा बिहीबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष लालले ‘मधेशका मुद्दा र आन्दोलन बिथोलिने अवस्थामा रहेको बताए । गणतन्त्र, संघीयता, लोकतन्त्रमाथि खतरा मडारिरहेकोले गणतन्त्र, संघीयता, लोकतन्त्रको रक्षार्थ पुनः संघर्ष गर्नु पर्ने अवस्था आएको बताए । अध्यक्ष लालले लोकतान्त्रिक शक्तिहरुको एकताको आवश्यकता माथि जोड दिंदै सत्ता र कुर्सीको मानसिकता त्याग गरी लोकतान्त्रिक शक्तिहरू एक हुनु पर्ने बताए ।
तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले बलिदानी दिवसलाई प्रेरणाको दिवस बताए । मधेश आन्दोलनमा देखिएको अवरोध, खडा गरिएका विकृति विरुद्ध खडा भएर परिवर्तनको वाहक हुनु परेको उनले बताए । यस दिवसको यही सार्थकता हो रहेको डा. सिंहले बताए ।
तमलोपा धनुषा अध्यक्ष धिरेन्द्र सिंहको सभापतित्वमा सम्पन्न शहीद श्रद्धाञ्जली कार्यक्रममा तमलोपाका नेताहरु बिभा ठाकुर, भोलानाथ झा, जयनाथ नायक, इश्वर पण्डित, जगन्नाथ चौधरी, भागीरथ लाल, जयनन्दन सहनी लगायतले शोक मन्तव्य राखेका थिए ।