सत्ता गठबन्धनका साझा उम्मेदवार मण्डलको जीत पक्का
जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ताधारी गठबन्धनको तर्पmबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली काङ्ग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ को नियम ७ को उपनियम(१) बमोजिम निर्धारित यस प्रदेश सभाको सभामुख पदको निर्वाचन कार्यक्रम अन्तर्गत पुस ३० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नेपालको संविधान, २०७२ को धारा १८२ र प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख पदमा निर्वाचित गरियोस् भनि जारी गरिएको सूचना अनुसार दुई जनाको उम्मेदवारी दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेता मण्डल धनुषाको निर्वाचन क्षेत्र नंं १(ख) बाट नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य छन् । उनी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन् भने राय नेपाली कांग्रेसका तर्फबाट सर्लाही २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ ।
मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह थिए भने समर्थकमा नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनता समाजवादी पार्टी(जसपा)का रामअशिष यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का रानी कुमारी तिवारी रहेका छन् ।
कांग्रेस उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र समर्थक जिवछी देवी यादव रहेका छन् ।
एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एमालेको २४, जसपाको १६, जनमतको १३, लोसपाको ९, नेकपा माओवादीको ७, राप्रपा र संघीय समाजवादी पार्टीको एक÷एक सांसदको समर्थन छ । सरोज कुमार यादव नेतृत्वको सरकारलाई दुई जना स्वतन्त्र सांसदले पनि समर्थन गरेका छन् । उनीहरुले सभामुखमा पनि समर्थन गरेमा मण्डललाई ७३ जना सांसदको समर्थन प्राप्त रहेको छ । उनी सभामुख निर्वाचित हुने करिब पक्का छ । नेता मण्डल संसदीय दलको नेता छाडेपछि सभामुख हुन लागेका हुन् । यसअघि २०७४ मा नेकपा माओवादीबाट निर्वाचित हुँदा विकास समितिको सभापति भएका थिए ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका सर्लाहीका रायलाई आप्mनो पार्टी बाहेक एकीकृत समाजवादीले समर्थन गर्ने भएको छ । प्रदेशसभामा कांगे्रसको २२ र एकीकृत समाजवादीको ७ सिट रहेको छ ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम भोली सोमबार हुने निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गरिएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ । सत्ता गठबन्धनबीच मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ । उपसभामुखमा जनमतले बबिता ईसरलाई अघि सार्ने भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । प्रस्तावकले प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र दर्ता भएको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिनेछ ।