जनकपुरधाम । नेकपा माओवादी संसदीय दलको नेतामा भरत प्रसाद साह निर्वाचित भएका छन् ।
मधेश प्रदेशमा सरकार गठन भइसकेपछि माओवादीले संसदीय दलको नेताको टुंगो लगाएको हो ।
९ जना सांसद रहेको प्रदेशमा संसदीय दलको नेता चयनमा विवाद हुँदा शुक्रबार निर्वाचन प्रक्रियाबाट टुंगो लगाएको हो ।
निर्वाचन प्रक्रियाबाट मधेश प्रदेश संसदीय दलको नेतामा साह चयन भएका हुन् । शुक्रबार बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेर लगातार दोश्रो पटक संसदीय दलको नेता चयन भएका हुन् । साहले चार र भट्टराईले तीन मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन् । समानुपातिकबाट निर्वाचित माला कुमारी कर्ण र मो. रजि हैदर विरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । दुवै जनाले अहिलेसम्म प्रदेशसभा सदस्यको शपथ समेत लिइसकेको छैन् । दुवै जना विरुद्ध मुद्दा परेकाले माओवादीका सात सांसदले मधेश प्रदेश संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा दोहोरिने साह पहिलो सांसद हुन् । यसअघि मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्दा पार्टीहरुले नयाँ अनुहार ल्याएको हो ।
साह भने लगातार दोश्रो पटक संसदीय दलको नेता हुन सफल भएका हुन् । उनी बिहीबार मात्रै प्रदेशका गृह तथा संचार मन्त्रीबाट राजिनामा गरेका थिए । उनी फेरी मन्त्री बन्ने करिब पक्का नै छ । उनकै नेतृत्वमा माओवादी जसपा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
यसअघि जसपा र तत्कालीन राजपा गठबन्धनको सरकार विघटन हुँदा माओवादी सरकारमा सहभागी भएको थियो । माओवादी सरकारमा सहभागी हुँदा साह आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेर हाल नाम परिवर्नन भएर गृह तथा संचार मन्त्रालयमा थिए । माओवादीले एक राज्यमन्त्रीसहित दुई मन्त्री पाएको थियो । राज्यमन्त्रीमा रुबी कर्ण नियुक्त भएकी थिइन् । उनी यसपाली भने सांसद हुन सकेकी छैनन् ।
सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेको थियो । मधेश प्रदेश सरकारमा सहभागी सबै दलले संसदीय दलको नेता केही दिन अघि नै चयन गरिसकेपनि माओवादीले नेताको चयन गर्न सकेको थिएन् । केन्द्रमा पनि माओवादी नेतृत्वको सरकार रहेकाले प्रदेशमा केन्द्रीय नेताहरुले चासो नलिदा समय बढी लागेको बताइएको छ ।