मन्त्री पठाउने अधिकार प्रदेश अध्यक्षलाई
जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालले मधेश प्रदेश सरकारमा मन्त्री पठाउने अधिकार प्रदेश अध्यक्ष रामबाबु कुमार यादवलाई दिने निर्णय गरेको छ ।
जनकपुरमा बिहीबार बसेको प्रदेश कार्यकारिनी समितिको बैठकले सरोज कुमार यादवको नेतृत्वमा गठन हुन लागेको मधेश प्रदेश सरकारमा मन्त्री पठाउने अधिकार प्रदेश अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्यको योग्यता, क्षमता, अवसरबाट बञ्चित भएकालाई प्राथमिकतामा राखेर मन्त्रीमा पठाउने निर्णय भएको प्रदेश मुख्य सचिव दिनेश प्रसाद यादवले बताए ।
जसपाले मधेश प्रदेशमा मुख्यमन्त्रीसहित तीन मन्त्री पाउने सम्भावना छ ।
प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा बसेको बैठकले मधेश प्रदेशमा सरकारबाट बाहिर रहेका नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुलाई सरकारलाई समर्थन गर्नको लागि औपचारिक रुपमा आह्वान गरेको मुख्य सचिव यादवले बताए । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले जसपा नेतृत्वको सरकारलाई समर्थन जनाइसकेको छ भने प्रदेशमा २२ सिट जितेर दोश्रो ठूलो दलको हैसियतमा रहेको कांगे्रस र सात सिट जितेको एकीकृत समाजवादीले समर्थन गरेको छैन् । लालबाबु राउत नेतृत्वको सरकारमा एकीकृत समाजवादी र कांग्रेस सहभागी भएका थिए ।
प्रदेश सरकारलाई सफल बनाउनको लागि जसपा मधेश प्रदेश समितिले निर्देशिका तयार गर्ने भएको छ । यसको लागि बिहीबारको बैठकले प्रदेश उपाध्यक्ष रामपृत पासवानको संयोजकत्वमा पाँच सदस्यीय निर्देशिका तयार समिति समेत गठन गरेको छ ।
समितिका सदस्यहरुमा रामसेवक यादव, जीतेन्द्र कुमार यादव, बृजमोहन तिवारी र निरा कुमारी साह रहेका छन् । समितिले १५ दिन भित्र निर्देशिका तयार गरेर मधेश प्रदेश समितिमा बुझाउनको लागि समयसीमा समेत तोकिएको मुख्य सचिव यादवले बताए ।
उनीहरुले तयार पारेको निर्देशिका अनुसार प्रदेश सरकारसँगै जसपाले जितेको स्थानीय तह संचालन गरिने भएको छ । विगतमा सरकार संचालनको क्रममा भएको त्रुटि सुधार गर्दै निर्देशिका बनाएर अघि बढने निर्णय गरेको हो ।
यसअघि बैठकको सुरुवातमै जसपा नेतृत्वमा सरकार गठन गर्न समर्थन जनाएका नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी र स्वतन्त्रका दुई जना सांसदलाई धन्यवाद ज्ञापन गरेको थियो । नेकपा एमालेको २३, जनमतको १३, नेकपा माओवादीका ७, राप्रपा र संघीय समाजवादी पार्टीको १÷१ तथा दुई जना स्वतन्त्र सांसदको समर्थनमा बुधबार जसपा संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
नवनियुक्त मुख्यमन्त्री यादवसहित जसपाका प्रदेशसभा सदस्यहरुलाई कार्यकारिणी समितिको बैठकले बधाई ज्ञापन गरेको थियो ।