नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज, मन्त्रीहरुको शपथमा अन्यौल
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार(आज) पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएका छन् ।
यसअघि बुधबार यादवलाई प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । गएको सोमबार यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६५ जनाको समर्थनमा यादवले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बुधबार ६५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका ५१ वर्षीय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (नौ), राप्रपा र संघीय समाजवादी पार्र्टी (एक÷एक)सहित दुई जना स्वतन्त्र सांसदको समर्थनमा एक दिन अगावै मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दावी पेश गर्न पुस २८ गते दिउँसो ४ बजेसम्मको समयसीमा तोकेको थियो । जसपा संसदीय दलका नेता यादवलाई बहुमत अंकभन्दा बढी सांसदको समर्थन एक दिन अगावै प्राप्त भएको थियो । समर्थन प्राप्त भएपछि यादवले सहयोगी दलका नेताहरुका साथ बुधबार प्रदेश प्रमुख मिश्र समक्ष सरकारको दावी पेश गरेका थिए ।
शपथ ग्रहण समारोह शुक्रबार दिउँसो मधेश भवन परिसरको मुख्यमन्त्री निवास अगाडि आयोजना हुन लागेको हो । शपथ ग्रहण समारोहको सम्पूर्ण तयारी पूरा भएको प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए ।
प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य, निवर्तमान प्रदेशसभा सदस्य, संसदीय दलका नेता, मातहतका कार्यालय प्रमुख, कर्मचारी लगायतलाई निमन्त्रणा दिएको छ । शपथ ग्रहण समारोह शुक्रबार १२ बजेपछि शुरु हुने सचिव पराजुलीले बताए ।
जसपा अध्यक्ष यादव सरिक हुने
जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि शपथ ग्रहण समारोहमा सरिक हुने भएका छन् । शपथ ग्रहण कार्यक्रममा सरिक हुनको लागि अध्यक्ष यादव काठमाण्डौबाट जनकपुर आउने भएका छन् । भोली(शुक्रबार) हुन लागेको शपथ ग्रहण कार्यक्रममा अध्यक्षज्यू सरिक हुने जिल्ला अध्यक्ष पशुपति यादवले बताए ।
यस्तै शपथ ग्रहण समारोहमा जसपाका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता तथा निर्वाचित जनप्रतिनिधिहरु समेत सहभागी हुने भएका छन् । प्रदेशका आठै जिल्लाका जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको एक जना नेताले बताए । शपथ ग्रहण समारोहमा निवर्तमान मन्त्री, पूर्व प्रदेशसभा सदस्यहरुलाई समेत निमन्त्रणा गरिएको जिल्ला अध्यक्ष यादवले बताए ।
यसअघि २०७४ फागुन ३ गते सम्पन्न भएको शपथ ग्रहण कार्यक्रममा पनि राष्ट्रिय अध्यक्ष यादवको उपस्थिति रहेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)को समर्थनमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
मन्त्रीको शपथमा अन्यौल
शुक्रबार दिउँसो नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्दा सत्ता साझेदार दलको तर्पmबाट मन्त्रीले शपथ ग्रहण गर्नेमा अन्यौल छ । सत्ता गठबन्धनका प्रमुख घटक दल नेकपा एमालेले मन्त्रालय र मन्त्रीको टुंगो लगाउन सकेको छैन् । बिहीबार साँझसम्म उनीहरु मन्त्रालय र मन्त्रीको टुंगो लगाउन छलफलमै थिए । यद्यपी संसदीय दलका नेता सरोज यादवले मन्त्री पदको शपथ लिने सम्भावना छ ।
यता, अर्का प्रमुख घटक दल जनमत पार्टीले पनि शुक्रबार शपथ लिने मन्त्रीको टुंगो लगाउन सकेको छैन् । यद्यपी संसदीय दलका नेता महेश प्रसाद यादवले शपथ लिने सम्भावना छ । नेकपा माओवादीले संसदीय दलको नेता चयन गर्न सकेको छैन् ।