जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत भएका छन् । उनी मधेश प्रदेशका निवर्तमान सभामुख छन् । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका यादव संंसदीय दलको नेता चयन भएसँगै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
संसदीय दलको नेताको लागि सोमबार बिहान यादव र मुख्यमन्त्री लालबाबु राउतले मनोनयन पत्र दाखिला गराएका थिए । बिहान मनोनयन पत्र दाखिला गराएपनि दिउँसो मुख्यमन्त्री राउतले पनि यादवलाई समर्थन गरेका थिए । मुख्यमन्त्री राउतले पनि संसदीय दलको नेताको लागि मनोनयन पत्र दर्ता गराएका थिए । तर, अन्तिम समयमा उनले यादवलाई समर्थन गरेका छन् । राउतले समर्थन गरेसँगै यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत भएका छन् ।
केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले आइतबारदेखि चुनावी प्रक्रिया अघि बढाएका थिए । समितिले गरेको सर्वसम्मतिको प्रयास सफल नहुँदा चुनावी प्रक्रिया अघि बढाएको थियो । चुनावी प्रक्रिया अघि बढेपछि सर्वसम्मत भएको निर्वाचन समितिका सदस्य दिनेश प्रसाद यादवले बताए ।
यादवका अनुसार उम्मेदवारी फिर्ता लिने समयमा यादव सर्वसम्मत भएका हुन् ।
यसअघि मनोनयन पत्र दर्ता गराउँदा मुख्यमन्त्री राउतको प्रस्तावकमा सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम छन् । यादवको प्रस्तावकमा ललिता दास र समर्थक सजिता खातुन रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मधेश प्रदेशसभामा १६ सांसदसहित जसपा नेपाल तेस्रो ठूलो दल हो । संसदीय दलको नेताका लागि हुने मतदानमा १५ जना सांसदले मात्रै भाग लिने भएका छन् ।
पार्टीकी समानुपातिक सांसद बिन्दु कुमारी यादव उपचारका क्रममा देश बाहिर छिन् । २०७४ सालको आम चुनावमा बाराबाट प्रदेशसभा सदस्यमा निर्वाचित सरोज यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मधेश प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
आप्mनो पाँच वर्षे कार्यकाल पूरा गर्दै प्रदेशको नामाकरण, राजधानीको टुंगो लगाउदाँ यादवले चौतर्फी प्रशंसा पाएका थिए ।