जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरुमा लगाइएको गाँजा खेती नष्ट गर्न प्रहरीले अभियान नै चलाएको छ ।
सर्लाहीमा बिग्हौ जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको दुई दिन नबित्दै धनुषा प्रहरीले पनि बिहीबार गाजाँ खेती नष्ट गरेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुर गाउँमा लुकाएर करिब दुई कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट पारेको छ ।
विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय यज्ञभुमी धनुषाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हरिपुरमा स्थानीय मानिसहरुले आफ्नो घर पछाडी खेतबारीमा लगाईएको करिब दुई कठ्ठा जग्गामा ४०० वटा गाँजाको बोटहरू नष्ट गरिएको छ ।
यसअघि सर्लाहीको नारायण खोलामा मंगलबार सुरक्षाकर्मीले ठूलो क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेका थिए ।
सशस्त्र प्रहरी समेतको उपस्थितिमा लालबन्दी नगरपालिका १४ स्थित नारायण खोलामा तयार हुनै लागेको गाँजा खेती नष्ट गरिएको हो । नारायण खोला, बतासे डाँडा, मटरदोभानलगायतको स्थानमा १३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा फाँडेर आगो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको सुरक्षा बेस हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील श्रेष्ठको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक होमनाथ नेपालको कमाण्डमा ३१ जना र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक शान्तराम कार्कीको कमाण्डमा पुगेको प्रहरी टोलीले १३ बिग्हाको गाँजा खेती फडानी गरेको हो ।
यसअघि आइतबार ८ बिघा र सोमबार ९ बिग्हामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।