जनकपुरधाम । मधेश प्रदेशसभाको प्रथम बैठक सोमबार(आज) दिउँसो बस्ने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले गएको बिहीबार मंसिर १८ गतेको लागि प्रदेश अधिवेशन आह्वान गरेको थियो । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे बैठक बस्न लागेको हो । पहिलो बैठकमा कुनै छलफलको विषय नराखिएको प्रदेशसभा सचिवालयले जनाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट मधेश प्रदेशमा १० वटा दलका प्रदेश सांसदहरु निर्वाचित भएका छन् । १० वटै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने सूची रहेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तव्य दिएपछि सभामुख चुनावको तिथिमा छलफल गरिने भएको छ । प्रदेशसभाले पुस ३० गतेदेखि सभामुख र उपसभामुख चयन प्रक्रिया अघि बढाउने भएको छ । प्रदेशसभामा तीन वटा नयाँ दल थपिएको छ । जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा थपिदा दलको संख्या १० पुगेको हो । यसअघि प्रदेशसभामा ७ दलको प्रतिनिधित्व थियो ।