जनकपुरधाम । नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुर–४ को १२औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ठकाई यादवको अध्यक्षतामा भएको उक्त साधारणसभाको एक कार्यक्रमकाबीच संस्थापक सदस्य रामबाबु यादवले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले सहकारीले सदस्यहरुलाई स्वरोजगार बनाउनुका साथै उद्यममा जोड्न आग्रह गरे । बचत र ऋण प्रभावले मात्र सदस्यहरुको आयस्रोतमा वृद्धि नहुने भन्दै बचत गर्ने बानीका विकास सहकारीको माध्यमबाट सदस्यहरुमा भएको उनको भनाइ थियो । उनले सदस्यलाई प्रशिक्षण दिनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्न समेत आग्रह गरे ।
संस्थाका सल्लाहकार काशि प्रसाद यादवले समाज रुपान्तरणको अभियानमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताए । उनले सहकारीहरुले अघिल्लो समय नीति र कानून भन्दा बाहिर गएर कारोबार गरेको भन्दै सहकारी ऐन र नियम अनुसार चल्दै सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा संस्थाका लेखा समिति संयोजक ब्रम्हदेव यादवले सहकारी मार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रमा लगानी बृद्धि गरी समाजको विकास सम्भव रहेको जानकारी दिए । उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने स्पष्ट पारे । संस्था स्थापना भएको झण्डै डेढ दशकमा सहकारीको सदस्यको संख्या बढेर १ सय ८५ पुगेको छ ।
संस्थाका व्यवस्थापक रामनारायण यादव शितलले आय व्यय विवरण प्रस्तुत गरेका थिए । संस्थाको शेयरपूजी ९६ लाख ६६ हजार चार रहेको छ भने बचत संकलन दुई करोड ५५ लाख दुई हजार पाँच सय ७७ रहेको व्यवस्थापक यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको ऋण लगानी ३ करोड ८६ लाख १८ हजार २ सय ३२ रहेको छ । २०६७ सालमा स्थापना भएको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय श्रोतसाधनको उचित परिचालन र व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
कुल बचत निक्षेपको तुलनामा संस्थाको तरलता अनुपात ७.९ प्रतिशत रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष यादवले अबको एक बर्षमा सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने बताए ।
कार्यक्रममा संस्थाका सचिव दिनेश प्रसाद यादव, सदस्यहरु दिनेश प्रसाद साह, छेवि मण्डल, बरुण कुमार यादव, चन्दिका देवी ठाकुर, लेखा समिति सदस्य रामइश्वर यादव, मो. अमिरुल राइन, ऋण समिति सदस्य विनोद साह, सुरेश ठाकुर, संस्थाका पूर्व अध्यक्ष नवल किशोर यादव लगायतको उपस्थिति रहेको थियो । मिरा देवी यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।