जनकपुरधाम । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार भएको मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ समारोहमा समाचार संकलन गर्न पुगेका अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त पत्रकार क्रान्तिलाई मेयर दासले प्रदेशसभा परिसरमा दर्जनौ व्यक्तिको सामुन्ने खुलेयाम यस्तो धम्की दिएका हुन् ।
केही महिना आघि नगरपालिका कार्यालयमै एकजना पत्रकारलाई लात्तले छातीमा हिर्काएर हाड भाँचेको भन्दै अझै तपाई लगायत अझै ५÷६ जना पत्रकारलाई यस्तो गर्ने मेयरले धम्की दिए । ‘तपाईले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिका तिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरोना बेचन होइन । मैले भाँच्न सकिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन’ धम्की दिँदै उनले भने ‘म अपराधकर्म, जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’
धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी छन् ।
घटनाको नेपाल पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समिति लगायतका संघसंगठनले घोर भत्र्सना गरेको छ । नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले शनिबार एक विज्ञप्ती जारी गर्दै मेयर दासमाथि कारबाहीको माग गरेका छन् । यस्तै प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले पनि विज्ञप्ती जारी गर्दै मेयर दासलाई कारबाहीको माग गरेका हुन् ।