जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण शुक्रबार(आज) हुने भएको छ ।
प्रदेशसभा परिसरमा हुन लागेको शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई ज्येष्ठ सांसद गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएका छन् । यसको लागि न्यौपानेले बिहीबार नै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा प्रदेश प्रमुख मिश्रले न्यौपानेलाई शपथ ग्रहण गराएका थिए । न्यौपानेले शपथ ग्रहण गरेसँगै शुक्रबार हुने कार्यक्रममा उनले अन्य प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने मार्ग प्रसस्त भएको छ । गएको मंसिर ४ मा सम्पन्न आमचुनावमा मधेश प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्पm ४३ गरी १ सय ७ जना नवनिर्वाचित सांसदले शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरु मध्ये धनुषा र महोत्तरीका प्रदेशसभा सदस्यहरुले मैथिली भाषामा शपथ ग्रहण गर्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् । सप्तरीबाट समानुपातिकतर्पm निर्वाचित मनिष सुमनले पनि मैथिली भाषामा शपथ ग्रहण गर्ने जानकारी गराएका हुन् । बारा र पर्सा जिल्लाका प्रदेशसभा सदस्यहरु हिन्दी र भोजपुरीमा शपथ ग्रहण गर्ने जानकारी गराएका छन् । आफनो संस्कृति झल्किने पोशाक लगाएर शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरिएको छ ।