जनकपुरधाम । मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णा यादव निर्वाचित भएका छन् । बिहीबार अपरान्ह भएको निर्वाचनमा कृष्णाले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन् । संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि बिहीबार निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेताको चयन गरिएको हो ।
यसअघि बिहीबार बिहान संसदीय दलको नेताको लागि प्रदेश सभापति कृष्णाले उम्मेदवारी दर्ता गराएका थिए । दुई÷दुुई जना समर्थक र प्रस्ताकका साथ कृष्णाले तोकिएको समयमा उम्मेदवारी दर्ता गराएका थिए । उनका प्रस्तावकमा निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंह र सुनिल कुमार यादव थिए भने समर्थकमा जंगीलाल राय र नागेन्द्र साह थिए । यता, शुरुदेखि नै कमजोर रहेका रामसरोज याववको समर्थकमा जिवछी यादव र प्रस्तावकमा कौशल कुमार राय थिए । मधेश प्रदेशमा २२ सिट जितेर दोश्रो ठूलो पार्टीको हैसियतमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने पहिलो दल बनेको हो । संसदीय दलको नेता चयनमा सहमति हुने छाँट नदेखिएपछि प्रदेश समितिले निर्वाचन प्रक्रियाबाट दलको नेता छान्न कांग्रेसले मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले बिहीबार अपरान्ह निर्वाचन सम्पन्न गराएका छन् । तोकिएको समयभन्दा करिब एक घण्टा ढिलो गरी शुरु भएको मतदान ३० मिनेटमा सम्पन्न भएको थियो । त्यस लगत्तै मतगणना गरी परिणाम सार्वजनिक गरेको छ ।
कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता छान्ने प्रक्रिया थालेको थियो ।
।१२ फागुन, रौतहट । नेपाली कांग्रेसको रौतहट जिल्ला सभापतिमा पूर्व सभासद कृष्णा यादव दोश्रो पटक विजयी भएका छन् ।
कृष्णालाई पुस महिना संयोग
हिन्दू धर्मावलम्बीहरुको लागि पुस महिना उत्तम मानिदैन् । विवाह, व्रतबन्ध लगायत शुभ कार्यहरु पुस महिनामा गर्न वर्जित नै छ । तर, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवको लागि भने पुस महिना ठीक उल्टो भएको छ । २०७८ देखि २०७९ को पुस उनको लागि राजनीति रुपले सफलताको महिना साबित भएको हो ।
वंशीचोकस्थित पार्टीको मधेश प्रदेश कार्यालयको बालकोनीबाट पुस १४ गते बिहीबार निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले संसदीय दलको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिरहदा गेटमा उपस्थित उनका समर्थकहरु २०७८ को पुस महिना सम्झिदै थिए । २०७८ पुस ९ गते उनी मधेश प्रदेश समितिको सभापतिमा १४१ मतले निर्वाचित भएको घोषणा भएको दिन थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका कृष्णाले ९९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी राम सरोज नै थिए । गत पुसमा पनि राम भने कृष्णा अगाडि टिक्न सकेको थिएन् । रामसरोजले ८५५ मत ल्याएर पराजयको सामना गरेको थियो । प्रदेश अधिवेशनमा रामसरोजले पूर्व उपसभापति बिमलेन्द्र निधि पक्षबाट उम्मेदवारी दिएका थिए । उनलाई संस्थापन पक्षले पराजित गर्दा कृष्णा सभापति भए । गएको ९ गते मात्र वर्ष दिन पूरा भएको कृृष्णाको जीतमा पुसले फेरी खुशि थपिएको हो । उनले एक वर्ष नबित्दै दुई पटक रामसरोजलाई पराजित गरेका छन् ।
कृष्णाको राजनीति यात्रा
नेपाली कांग्रेस रौतहटमा पूर्व मन्त्री आफताब आलमको वर्चश्व रहेका बेला कृष्णालाई स्थापित हुन सहज थिएन् । तर, उनले आलम विरुद्ध समूहको नेतृत्व गरेर अघि बढेका नेता हुन् । कुनै बेला रौतहट कांग्रेसमा आलमलाई नसोधेर पात्त समेत हल्लाउन नपाउने अवस्थाबाट उनी केही दिन भित्रै कांगे्रस लोकतान्त्रिक पार्टी रहेको अनुभूति गराए । २०६४ सालको प्रथम संविधानसभा निर्वाचनमा रौतहट–४ बाट सभासद चुनिदा कृष्णा जिल्ला स्तरका नेता थिए थिए । चुनाव लगत्तै सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनमा उनले आफताब आलमका भाई महताव आलमलाई २ मतले पराजित गदै जिल्ला सभापतिमा निर्वाचित भए ।
यो सफलतालाई उनले पार्टीको १३आंै जिल्ला अधिवेशनमा समेत निरन्तरता दिए । २०७२ फागुनमा सम्पन्न १३औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिद्धन्दी आलमका भाइ मोहम्मद महताब आलमलाई ५ मतले पराजित गर्दै दोस्रो पटक सभापतिमा निर्वाचित भएका थिए । मत परिणाम अनुसार कृष्णाले ४ सय ९४ मत प्राप्त गरेका थिए सँस्थापन पक्षका उम्मेदवार महताब आलमले ४ सय ८९ मत प्राप्त गरेका थिए ।
लगातार रौतहटको राजनीतिमा पक्कड मजबुत बनाउँदै २०७८ मा सम्पन्न पार्टीको १४औं जिल्ला अधिवेशनबाट डेलिगेट हुँदै प्रदेश सभापतिमा उम्मेदवारी दिए । मधेश प्रदेश कार्य समितिको प्रथम सभापति बन्न सफल कृष्णा हालै सम्पन्न आमचुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले रौतहट–१(२) बाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् । कृष्णाले १२ हजार ४ सय ८९ मत प्राप्त गरेका थिए ।