जनकपुरधाम । जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा आइतबार विजयी सुरुआत गरेको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा उसले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको हो ।
पोखराले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य पछ्याउँदै १७.४ ओभरमा ५ विकेट गुमाएर जनकपुर जितसम्म पुगेको थियो । जनकपुरका लागि सन्दीप जोराले ३० बलमा ४० रनको योगदान दिए ।
पोखराका लागि जाहिर खानले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनको स्कोर खडा गरेको थियो ।
त्यसमा आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । जनकपुरका लागि वेष्टइण्डिजका अलराउण्डर केसरिक विलिम्सनले १९ रन खर्चेर तीन विकेट लिए । खेलको म्यान अफ दी म्याच समेत रहेका विलियम्स वेष्टइण्डिजका लागि आठ वनडे र २६ टी–२० अन्तराष्ट्रिय म्याच खेलेका छन् ।
यसअघि भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो ।
लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए । त्यस्तै सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए ।
यता लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियोे ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए । उनले ६३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन् । यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए । विपुल शर्मा ११ र अनिल शाह छ रनमा आउट भए ।
यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान एक÷एक विकेट लिए । यस जितसँगै लुम्बिनीको चार अङ्क जोडिएको छ । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।