जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा शपथ कार्यक्रम पछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । माओवादीले प्रतिनिधिसभामा पनि सांसदको शपथ पछि शुक्रबार साँझ संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो । केन्द्रीय नीतिलाई प्रदेशमा पनि लागू गर्दै प्रदेशसभा सदस्यहरुको शपथ कार्यक्रम पछि संसदीय दलको नेता चयन गरिने नेकपा माओवादीका नेता एवम् गृह तथा संचार मन्त्री भरत साहले बताए । माओवादीले प्रत्यक्षतर्पm चार र समानुपातिको चार गरी प्रदेशमा आठ सिट जितेको छ । संसदीय दलको नेतामा पुनः मन्त्री साहको दावी रहेको छ ।
साहका अनुसार भोली आइतबार प्रदेशसभा सचिवालयले सर्वदलीय बैठक आव्हान गरेको छ । सर्वदलीय बैठकले नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण गराएपछि पार्टीले संसदीय दलको नेता चयन गर्ने उनले बताए ।
सर्वदलीय बैठकले नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण गर्ने तिथिको टुंगो लगाउने भएको छ । प्रतिनिधिसभा सदस्यले शुक्रबार शपथ ग्रहण गरेपछि प्रदेशमा संसदीय दलको नेता चयन र शपथ कार्यक्रमको चटारो भएको छ ।
गएको शनिबार मात्रै निर्वाचन आयोगले प्रदेशको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष प्रस्तुत गरेपछि सरकार गठन प्रक्रिया विधिवत रुपमा प्रारम्भ भएको हो । निर्वाचन आयोगले प्रतिवेदन बुझाएको ३० दिन भित्र दलहरुले सरकार गठन गर्नुपर्ने संवैधानिक बाध्यता छ । आयोगले प्रतिवेदन बुझाएका साता दिन बित्न लागेपनि दलहरुले संसदीय दलको नेता चयन गर्न चासो लिएको छैन् । जनमत पार्टीले प्रदेशमा संसदीय दलको नेता चयन गर्ने जिम्मा अध्यक्ष सीके राउतलाई दिएको छ भने नेपाली कांग्रेसले पनि नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरिसकेको छ ।
संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए । दलको नेताको लागि काँग्रेसका प्रदेशसभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण प्रसाद यादव, निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र जनार्दन क्षेत्री दाबेदार छन् ।
यस्तै बैठकले मधेस प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरुसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार प्रमुख गुप्ताले बताए ।
कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिले केहीदिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने प्रवक्ता गुप्ताले बताए ।
यस्तै बैठकले मधेश प्रदेशमा काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठवन्धनमा रहेका दलहरु लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । जसको लागि प्रदेश सभापति यादवलाई जिम्मेबारी दिएको छ ।
मधेश प्रदेश अन्तर्गत प्रतिनिधी सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसदहरुलाई कार्यक्रम आयोजन गरी सम्मान गर्ने लगायतको निर्णय गरेको जनाएको छ । कांगे्रस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठबन्धन गरेर प्रदेशमा चुनाव लडेको थियो । नेकपा एमाले–जनता समाजवादी पार्टी(जसपा) चुनावमा गरेको गठबन्धन अहिले भने टुटेको अवस्था छ । जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव सकेसँगै गठबन्धन पनि सकिएको घोषणा गरेपछि दुवै दल अलग अलग भएको छ । प्रदेशमा जसपाले पनि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइसकेको छैन् । केन्द्रीय नेताको रोहवरमा संसदीय दलको नेता चयन गरिने जसपा श्रोतले बताए । जसपाले प्रतिनिधिसभामा पनि संसदीय दलको नेता चयन गरिसकेको छैन् । प्रदेशमा स्वतन्त्रबाट निर्वाचित सदस्य भने शपथ ग्रहण पर्खेका छन् ।