जनकपुरधाम । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ ।
संसदीय दलको नेतामा सभापति देउवा र पार्टीका महामन्त्री थापाले मंगलबार उम्मेदवारी दिएका छन् ।
मतदान बुधबार(आज) बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।
समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहनुभएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ ।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्तापछि उनीहरुले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरुले उम्मेदवारी दिएको तर्क गरे । वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताए । महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख बताए ।