जनकपुरधाम । धनुषामा द्रुत सिकाई कार्यक्रम संचालन गर्नको लागि मंगलबारदेखि तीन दिने सहजकर्ता तालिम शुरु भएको छ ।
जनकपुरमा शुरु भएको तीन दिने तालिममा जिल्लाका पाँच पालिकाको १५ जना सहजकर्ताहरु सहभागी छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत कक्षा ६ देखि ८ सम्मको किशोरीहरुलाई विद्यालय भर्ना गराउन ती पालिकाहरुमा द्रुत सिकाई कार्यक्रम संचालन गर्न लागेको हो ।
नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमको आधारमा पालिकास्थित परीक्षा समितिले परीषा लिएर ती किशोरीहरुलाई कक्षा ९ मा भर्ना गर्ने लक्ष्य रहेको आसमान नेपालका प्राविधिक संयोजक (शिक्षा) घुरन यादवले बताए ।
दु्रत सिकाई कार्यक्रम संचालन गर्नको लागि सहजकर्ताहरुलाई (Facilator Training On Accelerated Learning Program)
तालिम दिन लागेको हो । तालिममा प्रत्येक पालिकाबाट तीन ÷तीन जना सहजकर्ता सहभागी भएका छन् । धनुषाको विदेह नगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकामा उनीहरुले तीन÷तीन वटा दु्रत सिकाई कार्यक्रम संचालन गर्ने छन् । विद्यालय बाहिर रहेका वा विद्यालय छाडेका किशोरीहरुलाई पुनः विद्यालय भर्ना गराउन उनीहरुको लागि ९ महिनासम्म दु्रत सिकाई कार्यक्रम अन्तर्गत कक्षा संचालन गरिने संयोजक यादवले बताए । तालिममा सहभागी सहजकर्ताहरुलाई कमला नगरपालिकाका शिक्षा संयोजक अमित जैसवाल र विदेह नगरपालिकाका शिक्षा संयोजक संतोष यादवले सहजीकरण गर्ने भएका छन् । कार्यक्रममा आसमान नेपालका फिल्ड सुपरभाइजर राममनोहर मोची लगायतको उपस्थिति रहेको थियो । तालिम बिहीबार सम्पन्न हुने छ ।