काठमाण्डौ । प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ ।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ ।
प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको छ ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनी ८१ वर्षका छन् ।
२०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । उनीभन्दा उमेरमा बढी महिन्द्र राय यादव भएपनि वास्तविक उमेर कम रहेको स्विकार्दै शपथ ग्रहणको दिन अनुपस्थित रहेर ठाकुर अगाडि सरेका थिए ।