जनमत संसदीय दलको नेतामा डा. राउत, स्वतन्त्रको लामिछाने
जनकपुरधाम । संसदमा प्रवेश पाएका नयाँ पार्टी संसदीय दलको नेता चयनमा अगाडि देखिएको छ । पहिलो पटक प्रतिनिधिसभामा प्रवेश पाएको जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा(एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गरेको छ ।
जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन् ।
पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।
डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।
प्रतिनिधि सभा सदस्यमा ६ सिट जितेको जनमत पार्टीले संसदीय दलका नेतासहितका पदाधिकारी चयन गरेको छ ।
काठमाडौंको बुद्धनगरमा बसेको बैठकले दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए ।
यस्तै बैठकले सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरेको छ । अन्य दलले यसअघि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्ने परम्परा नभए पनि जनमत पार्टीले यी पदमा पनि चयन गरेको हो ।
संसदमा १० सिट नपुगेका कारण जनमत पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुले संसद सचिवालयबाट थप सुविधा पाउने छैनन् । तर जनमत पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी भने पाउने छ ।
जनमत पार्टीको आइतबारको बैठकले नै दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरेको थियो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेता चयन भएका छन् । पार्टीको बुढानीलकण्ठकस्थित एक होटेलमा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।
चुनावअघि नै संसदीय दलको नेता छान्ने निर्णय गरे पनि कानुनी रुपमा मान्यता नपाउने भएपछि संसदीय दलको बैठकबाट नेता छानिएको हो ।
लामिछानेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको थियो । पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउने व्यवस्था गरिएको स्वतन्त्र पार्टीले जनाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि सभा सदस्यबाट संसदीय दल गठन गर्ने प्रावधान राखेको छ ।
’संघीय संसद् वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्नेछ । दलबाट निर्वाचित भई संघीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व व्यक्ति सम्बन्धित संसदीय दलको सदस्य हुनेछ ।’
यता, नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् । सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो ।
यस्तै उपनेतामा राजेन्द्र पाण्डे छानिएका छन् । संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिएका छन् ।
यस क्रममा उक्त पार्टीका नवनिर्वाचित सांसदहरूले एकआपसमा बधाइ साटासाट गरेका थिए ।
तीनकुनेस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल, झलनाथ खनाल लगायत नेताहरूले निर्वाचित सांसदहरूलाई माला लगाइदिएका थिए ।
यसैबीच सोमबारको बैठकले संसदीय दलको विधानमा संशोधन गर्नुपर्ने भएमा सुझाव दिन सांसदहरूलाई आग्रह गरेको कार्यालय सचिव गंगालाल तुलाधरले बताए । नेपाली कांग्रेसले आगामी ६ गतेको संसदीय दलको नेता चयन गर्ने भएको छ । नेपाली कांग्रेसमा संसदीय दलको नेताको आकांक्षी बढि देखिएपछि निर्वाचन प्रक्रियाबाट नेता गर्न लागेको हो । एमाले पनि चाँडै संसदीय दलको नेता चयन गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संसदीय दलका नेता चयन हुने पक्का छ । ओली सर्वसम्मत संसदीय दलको नेता चयन हुने पक्का रहेपनि कांगे्रसमा भने पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दलको नेता बन्न सहज देखिएको छैन् । शेखर कोइराला र गगन थापा पनि संसदीय दलको नेताका लागि पहल कदमी गरेका छन् । यता, नेकपा माओवादी केन्द्रमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन हुने पक्का छ । जनता समाजवादी पार्टी(जसपा) मा भने अहिले स्पष्ट भइसकेको छैन् । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि संसदीय दलको नेता चयनमा सकस भएको हो । यद्यपी परिषद् अध्यक्ष अशोक राई संसदीय दलको नेता चयन हुने सम्भावना छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी बीच प्रतिस्पर्धा देखिएपनि पुनः ठाकुर नै चयन हुने सम्भावना छ ।