जनकपुरधाम । प्रतिनिधि सभामा प्रत्यक्ष ५७ र समानुपातिक ३२ गरी कांग्रेसको सिट ८९ पुग्ने भएकोछ । राष्ट्रिय सभाका १० सदस्य र प्रतिनिधि सभाका ८९ सदस्य गरी संघीय सांसदमा कांग्रेसको कुल संख्या ९९ पुग्ने देखिएको छ ।
संघीय संसदमा रहने प्रतिनिधित्वका आधारमा संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ २९ जना महिलालाई अनिवार्य रुपमा पठाउनु पर्ने बाध्यता कांग्रेसलाई छ । बाँकी रहेको तीन सिट मात्रै पुरुषले पाउने भएका छन् । जसमा खस–आर्य पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका प्रवक्ता प्रकाशशरण महत, आदिवासी–जनजाति पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेशी पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका पूर्वउपसभापति विमलेन्द्र निधि र दलित पुरुषतर्फ बन्दसूचीको १ नम्बरमा परेका सहमहामन्त्री जीवन परियारमध्ये १ जनाको प्रतिनिधित्व नहुने निश्चित छ । नेता निधि र दलित कोटामा १ नम्बरमा रहेका सहमहामन्त्री परियारमध्ये कुनै एक जनाले मात्रै प्रतिनिधिसभा प्रवेश गर्ने अवसर पाउने भएका छन् । श्रोतका अनुसार नेता निधि पर्न नसक्ने सम्भावना बढेको छ ।
विद्यमान संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ ।
सबै दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनै पर्ने संवैधानिक व्यवस्था छ । दलहरुले यो ३३ प्रतिशत अनुपात राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पु¥याउनु पर्ने हुन्छ । कांग्रेसको राष्ट्रिय सभामा १० सदस्य छन् । जसमध्ये ३ जना महिला छन्। अहिलेसम्म प्रतिनिधि सभामा प्रत्यक्ष ५५ सिट जितेको कांग्रेसबाट १ जना मात्र महिला (सीता गुरुङ) ले जितेकी छन् ।
९९ सिटबाट ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कांग्रेसले प्रतिनिधि सभामा विजयी १ र राष्ट्रिय सभामा रहेका ३ महिलाको संख्या घटाएर अब २९ जना महिला अनिवार्य रुपमा सांसद बनाउनु पर्ने भएको छ ।
कांग्रेसले नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी मण्डललाई मधेशी तथा जावेदा खातुन जागालाई मुस्लिम क्लस्टरबाट महिला प्रतिनिधित्व पुर्याउन समानुपातिक सांसद बनाउनुपर्ने हुन्छ ।