जन्ती बोकेको जीप दुर्घटना पाँचको मृत्यु
जनकपुरधाम । धनुषामा शनिबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको जीप शनिबार बिहान ४ः३० बजे वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको उपरीक्षक रजौरेले जानकारी दिए ।
महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको शुक्रबार विहे थियो । संजीव दुलही लिन जन्तीसहित इटहरीको खनारचोक पुगे ।
स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो । अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो । घर फर्किएकोमध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे वीरेन्द्रबजारमा दुर्घटनामा प¥यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा दुर्घटना भएको थियो ।
यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् ।