जनकपुरधाम । धनुषा–४ (क) मा सत्ता गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । लक्ष्मीनियाँ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता नदिनेलाई मत नदिनको आग्रह गरेका छन् । पर्सी आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारको अन्तिम दिन बिहीबार गठबन्धनले आयोजना गरेको चुनावीसभामा उनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठप्रति इंगित गर्दै सिन्दूरसँगै नागरिकता नदिनेलाई मत नदिनुपर्ने नेता निधिले बताए । मधेश प्रदेशका नागरिकता विहीनलाई नागरिकता प्रदान गरेर राज्यको सेवासुविधाबाट लाभान्वित हुन नदिनको लागि एमालेका नेताहरुले यस्तो गरेको आरोप समेत लगाए । नेकपा एमाले नागरिकता र संघीयता विरोधी पार्टी रहेकोले उनीहरुलाई मत नदिनको लागि नेता निधिले मतदातामा आग्रह गरे ।
नेपाली कांग्रेस जन्मसिद्ध नागरिकता प्राप्त गरेको नागरिकको सन्तानलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । दुई दुई पटक नागरिकता सम्बन्धी विधेयक पारित गरेर पठाएपनि राष्ट्रपति विद्या देवी भण्डारीले नेकपा एमालेबाट परिचालित भएर प्रमाणीकरण नगरेको जिकिर गर्दै नेता निधिले उनीहरु मधेश विरोधी रहेको दावी गरे ।
मधेश आन्दोलनको क्रममा केपी ओलीले मधेश आन्दोलनलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति इंगित गर्दै नेता निधिले यस्तोको पहिचान गरेर मतदान गर्न सबैमा आग्रह गरे । मधेशी जनताप्रति लक्षित गरेर ओलीले दुईचार ओटा आँच झरेपनि केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई नेता निधिले स्मरण गराउँदै मधेश विरोधी दललाई मधेशी जनताले मत नहाल्ने विश्वास समेत व्यक्त गरे । पूर्वउपसभापति निधिले निर्वाचनपछि देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले नेपाली कांग्रेसको पक्षमा मतदान गर्न मतदातामा आग्रह गरेका थिए । कार्यक्रममा धनुषा–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव, ४(क) प्रदेशसभाका उम्मेदवार शेषनारायण यादव, नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार, ४(ख) प्रदेशसभाका उम्मेदवार एकीकृत समाजवादीका सत्रुधन महतो, कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झा लगायतका नेताहरुले आ आफनो मन्तव्य राखेका थिए ।
यसअघि पाँचदलीय गठबन्धनले चुनाव प्रचार–प्रसारको अन्तिम दिन बिहीबार जनकपुरधाममा आयोजित चुनावीसभामा नेता निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको दाबी गरे ।
उनले गठबन्धनकै सहमतिअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा चुनाव लडेको र त्यसमा आफूहरू ७० वटा सिट जित्ने लगभग निश्चित रहेको दाबी गरे । त्यस्तै, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चालगायतका दल पनि राम्रो संख्यामा जित्ने अहिलेसम्मको अनुमान रहेको उनले बताए ।
नेता निधिले धनुषा–३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ साइकल छापमा र बाँकीमा रूख चिह्नमा मत दिन मतादातासँग आग्रहसमेत गर े। उनले भने, ‘मैले कांग्रेसलाई समर्थन गर्ने आफ्ना क्षेत्रका मतदाताहरूसँग अनिल झाको चुनाव चिह्न साइकल छापमा मतदान गर्न आग्रह गरिसकेको छु । त्यसैले यहाँ उनको जित सुनिश्चित छ ।’
‘अनिलजी जुनसुकै पार्टीमा भए पनि उहाँसँग पहिलेदेखि नै मेरो अत्यन्त मैत्रीपूर्ण सम्बन्ध छ । संघर्षको बेलामा, संविधान लेख्ने बेलामा, धेरै मुद्दाहरू लोकतन्त्र, संघीयता र मधेसका मुद्दाहरूमा हामी दुई जनाको धेरै कुरा मिल्छ । त्यसैले अनिलजीको यहाँ जो प्रवेश भएको छ, मेरो सहमतिमा हो । मेरो पार्टीका सारा साथीहरूलाई मैले यहाँ अनुरोध गरेको छु अनिल झाजीलाई साइकल छापलाई विजयी गराउन ।’
उनले भने, ‘धनुषा–३ मा गठबन्धनका उम्मेदवारहरू जित्नेमा कुनै दुईमत छैन । अनिल झा पनि जित्नुहुन्छ, रामसरोज यादवजी पनि जित्नुहुन्छ, परमेश्वर साहजी पनि जित्नुहुन्छ । हाम्रा सबै उम्मेदवारको जित पक्का छ ।’
नेता निधिले यस क्षेत्रमा प्रतिपक्षीहरू पनि अनिल झाप्रति इमान्दार हुने विश्वास व्यक्त गरेका छन् ।