जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका बालबालिकालाई विद्यालय भर्ना गरेर पालिकालाई बालश्रममुक्त पालिका घोषणा गर्ने अभियान अघि बढाइएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तर्गत पालिकाको वडा नं ४ सपही गाउँ बालश्रम मुक्त घोषणा भइसकेको छ । गत महिना मात्रै एक समारोहका बीच लक्ष्मीनिया–४ लाई वडाध्यक्ष रमेश साहको सक्रियतामा पालिका प्रमुख भोगेन्द्र मिश्रले बालश्रम मुक्त वडा घोषणा गरेका थिए ।
लक्ष्मीनियाँ गाउँपालिकाको सात वडामध्ये बाँकी रहेको ६ वटा वडा पनि बालश्रम मुक्त घोषणा गर्ने गरी कार्यक्रमहरु अघि बढाइएको छ ।
नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं. ४ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । वडा नं. १ र ४ पनि घोषणाको अन्तिम तयारीमा जुटेको आसमान नेपालका पालिका संयोजक मुकेश कुमार रजकले बताए । सोहनी, अरेरबा र सिनुरजोडा गाउँका केही भाग सम्मिलित वडा नं. १ लाई चुनावपछि बालश्रम मुक्त घोषणा गर्ने गरी तयारी भइरहेको रजकले बताए ।
वडाका सबै बालबालिकाहरु विद्यालय भर्ना भइसकेकोले केही दिनभित्रै वडालाई बालश्रममुक्त घोषणा गरिने वडा नं. १ का वडाध्यक्ष दिलिप यादवले बताए ।
वडाध्यक्ष यादवका अनुसार वडाका सबै बालबालिकाको पहुँच विद्यालयमा भइसकेको हो । तथ्यांकका अनुसार गत वर्ष ती वडामा ५४९ जना बालबालिकालाई विद्यालय भर्ना गराइएको थियो । चालु शैक्षिक वर्षमा पनि विद्यालय भर्ना अभियान संचालन गरेर नयाँ बालबालिकालाई समेत विद्यालय पठाउने कार्य गरिएको आसमान नेपालका पालिका संयोजक रजकले बताए ।
बालश्रम मुक्त घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा रहेकोले केही दिन भित्रै वडाध्यक्षको अगुवाईमा वडालाई बालश्रम मुक्त घोषणा गरिने उनले बताए ।
वडा नं. ५ रहेको बनिनिया र भंगहा गाउँलाई पनि बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तिम चरणमा रहेको रजकले बताए । वडा नं. १ सँगै वडा नं. ५ पनि बालश्रम मुक्त घोषणा गर्ने तयारी रहेको उनले बताए ।
वडा नं. ५ मा गत वर्ष ५१५ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको थियो । चालु शैक्षिक वर्षमा वडाका सबै बालबालिका विद्यालय भर्ना भएको वडा नं. ५ का वडाध्यक्ष दुखरण यादवले बताए । यादवका अनुसार आसमान नेपालले संचालन गरेको परियोजनाले वडालाई बालश्रम मुक्त घोषणा गराउन सहज पारेको हो । शिक्षा क्षेत्रको विकासमा आसमान नेपालले निर्वाह गरेको भूमिका समेत उनले प्रशंसा गरे । अन्य सरोकारबाला निकायले पनि आसमान नेपालबाट सिकेर शिक्षा क्षेत्रको विकासमा जुटनुपर्ने धारणा वडाध्यक्ष यादवको थियो । वडाहरुलाई बालश्रम मुक्त घोषणा गर्दै पालिकालाई पनि यसै वर्ष भित्र बालश्रम मुक्त घोषणा गर्ने तयारी रहेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य महतोले बताए ।
बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताए ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, ठूली दिदी लगायतले बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने अभियानमा सहयोग गरेका छन् । उनीहरुले वडालाई बालश्रम मुक्त घोषणा गराउने कार्यलाई अभियानकै रुपमा अघि बढाएका हुन् ।
जोखिममा रहेका बालबालिकाको पहिचान गरी सहयोग गरिएको छ । ‘बालश्रमिक भेटिए गाउँपालिकाले आवश्यक संरक्षण गर्छ । यो घोषणा भएपछि विभिन्न कार्यक्रमहरु समुदायस्तरमै पुग्छ ।
जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकहरुलाई दिगो व्यवस्थापनको लागि प्रेरित गर्न समय समयमा बैठक गरेर जानकारी गराउँदै आएको छ । गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७८ समेत बोर्डको बैठकबाट पारित गरिसकेकोले केही दिन भित्रै उक्त पालिका बालश्रम मुक्त घोषणा हुने विश्वास महतोको छ ।