हरिवन । सर्लाहीको हरिवनमा आइतबार बिहान बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नेतृत्वमा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिएको छ । मेयर थापाको नेतृत्वमा माओवादीका कार्यकर्ताले हरिवनस्थित कडरिया चोकमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । माओवादी केन्द्रकी नेतृ एवं प्रतिनिधि सभाकी समानुपातिक उम्मेदवार माया बलको गाडीमा तोडफोड गर्ने विप्लव समूहका तत्कालीन जिल्ला इन्चार्ज स्वर्गिय कुमार पौडेलका भाई हरिकृष्ण पौडेललाई प्रहरीेले बिनाकारवाही छाडेको भन्दै माओवादी कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका थिए । गाडीमा तोडफोडको घटनापछि प्रहरीले हरिकृष्णलाई नियन्त्रणमा लिएर शनिबार छाडिसकेको छ । चुनावपछि यस विषयमा थप छलफल गर्ने सहमतीमा हरिकृष्णलाई छाडिएपछि असन्तुष्ट बनेका माओवादी कार्यकर्ताले मेयर थापाको नेतृत्वमा राजमार्गमा जम्मा भएर चक्काजाम गरेका हुन् । प्रहरीले असन्तुष्ट समूहलाई सम्झाइबुझाई गरी सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पनि छलफल गर्ने सहमती जुटाएर बन्द खुलाएको छ । बागमतीका मेयर थापा र पौडेल परिवारबीच लामो समयदेखि राम्रो सम्वन्ध छैन् । केही समयअघि पौडेल मेयर थापाको विरुद्धमा बागमती नगरपालिकाको कार्यालयमा अनसनमै बसेका थिए ।